|  

व्यक्तिले गरेको भ्रष्टचारको भारी पार्टीले बोक्न सक्दैनः गगन थापा

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको भ्रष्टचारको भारी पार्टीले बोक्न नसक्ने बताएका छन् ।

महामन्त्री थापाले नवलपरासीको सुनवलमा आज आयोजित पार्टी कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने, ‘सिंगो कर्मचारी तन्त्रले भ्रष्टचार गर्छ त गर्दैन नि । एक जना व्यक्तिले गर्छ नि । सिंगो नेपालका नेताहरुले गर्छन त । गर्दैनन नि त । व्यक्तिले गर्छ नि ।’ भ्रष्टाचार कसैले गर्छ भने जिम्मा त्यही स्वयंले लिनुपर्ने र त्यसको भारी कांग्रेसले नबोक्ने उनले प्रष्ट पारे । 
साथै महामन्त्री थापाले संवैधानिक निकायले गरेका अनुसन्धानप्रति आशंकाहरू व्याप्त रहेको बताएका छन् ।

उनले ठूला ठूला भ्रष्टचारमा अख्तियार, सरकारले गरेको अनुसन्धानमा चित्त बुझ्दैन भने संसद्बाट उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन सकिने विकल्प सुनाउँदै उनले भने,‘एकदम विश्वास गर्ने न्यायाधीश वा पूर्वप्रधानन्याधीश ल्याउने हो भने पनि ल्याऔं । आयोग बनाउने हो भने पनि बनाऔं,’ महामन्त्री थापाले भने, ‘नेताको सम्पत्ति पनि छानबिन गरौं । सबै ठूलो ठूलो काण्डको पनि छानबिन गरौं । त्यो अनुसन्धानमा आमा पर्ला, मामा पर्ला छोडिदिउँ । गल्ती गर्नेलाई पाता कसेर लैजाऔं ।’