२८ फागुन, काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताएका छन् ।
आज जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र उदार रहेको बताएका हुन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा गणतन्त्रको बिरोधमा बोलिरहेको र त्यो अधिकार पनि गणतन्त्रले दिएको जिकिर गरे । राजाको शासन भएको बेलामा आन्दोलन गर्नु र राजाको बिरोध गर्नुलाई ठूलो अपराध मान्ने गरे पनि अहिले त्यस्तो नरहेको प्रष्ट पारे । उनले भने, ‘हामी अहिले लोकतन्त्रमा छौँ, हाम्रो लोकतन्त्र यति उदार छ । पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न प्रयास गर्न पाउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा गणतन्त्रको बिरोधमा बोलिरहेको छ । त्यो अधिकार पनि लोकतन्त्र र गणतन्त्रले दिएको हो । राजाको शासन भएको बेलामा आन्दोलन गरेका मान्छे हौँ हामी । त्यो बेलामा राजाको बिरोध गर्नु ठूलो अपराध हुन्थ्यो । अहिले गणतन्त्रको बिरोध गर्नु अपराध हुँदैन । जनताको बीचमा जानुस् ।’
अध्यक्ष राईले सडकबाट राजतन्त्र स्थापना गर्ने सपना देख्ने कुरा गलत भएको पनि टिप्पणी गरे ।