२८ फागुन, काठमाडौं । माओवादीका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ काँग्रेस र एमालेको नालायकीका कारण इतिहास भइरहेको सामन्ती राजतन्त्रले टाउको उठाउने जमर्को गरेको आरोप लगाएका छन्।
मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहलाई मंगलबार रुपन्देहीमा सम्बोधन गर्दै पुनले काँग्रेस र एमालेको कूशासन, भ्रष्टाचार र बेथितिका कारण निरंकुश राजावादी शत्तिले इतिहास भइसकेको पुरानै स्वर्ग फर्काउन सकिन्छ कि भन्ने प्रयत्न गरेको बताए ।
‘दुई तिहाई गठबन्धनको नाममा सरकार चलाएका दुई दलले बिचौलिया वर्ग, स्वार्थ समूह र आफ्नो पार्टीको पनि सीमित गुटको स्वार्थमा सत्ताको दुरुपयोग गरिरहेका छन्, पुनले भने, ‘शासनमा रहेकाहरुको नालायकीको फाइदा उठाएर निरंकुशतावादी प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोसिस गरिराखेका छन् । मुलुकका लागि यी दुवै प्रवृत्ति घातक छन्।’
जनताको बलिदानीपूर्ण संघर्ष र त्यागबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई दलाल तथा पुँजीपति र बिचौलिाय वर्गले सत्ता स्वार्थमा प्रयोग गरेका कारण जनता र युवा वर्गमा व्याप्त निराशालाई प्रतिगामी शक्तिले व्यवस्थाविरुद्ध उपयोग गर्न खोजेको टिप्पणी पुनको थियो ।
‘दलाल तथा बिचौलिायहरुलाई प्रोत्साहन गर्ने काँग्रस र एमालेको सरकारले जनताम र त्यसमा पनि युवाहरुमा निराशा बाँडेको छ, उनले भने, ‘आन्दोलनमार्फत किसान, महिला, मजदुर, उत्पीडित, जाति, क्षेत्र र वर्गले प्राप्त गरेको अधिकार रक्षा गर्ने र थप सशक्त गर्दै अगाडि बढ्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ।’