२८ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल देखिएको टिप्पणी गरेका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधबार आयोजना गरेको ‘नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको बताउँदै उनले कर्मचारीतन्त्रले शासनले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गरे ।
राजनीतिक परिवर्तन भएपनि राज्यका अंगहरू पुरानै रहेकाले उनीहरूको वुद्धि विवेकले काम नगरेको आरोप पनि उनले लगाए ।
‘मुख्य कुरा राज्य पुनःसंरचनाको कुरा थियो, त्यतिबेला नै आग्रह वा पूर्वाग्रह के हो त्यहाँ गल्ती गरेका छौँ । हाम्रा राज्य सत्ताका कतिपय अंगहरूलाई हामीले यथास्थितिमा राख्यौं र अनि पोलिटिकल नेताहरूले गाइड गरेनन् कि उनको गाइडमा चले कुरा यही हो,’ शर्माले भने, ‘म वा अर्को । नेताहरू कस्ले चलायो पुरानो ब्युरोकेसीले चलायो । उनीहरूले न भिजन ल्याए न बुद्धि विवेक ल्यायो । समस्या त्यसैमा छ । विकल्प त्यसमा चाहिएको छ ।’
सत्तामा पुगेका हरेक नेताहरुलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गर्नुभयो । अबको विकल्प राजनीतिमा नभइ कर्मचारीतन्त्रमा चाहिएको उनको भनाइ छ ।
‘संविधानले भनेको समाजवादको बाटो तय गर्ने कुरामा वैचारिक अन्योलता छ । पहिलो कुरा प्रष्टै छ कि, विकासको मोडालिटी के हो त ? बजेट खर्च कसरी गर्ने ? सही गर्नेले सही गर्दैन कसरी खर्च गर्ने ? सम्भवै छैन,’ शर्माले भने, ‘मैले पूर्वप्रधानमन्त्रीजीहरू शेरबहादुर र प्रचण्ड जीलाई भेको थिएँ, टेबुल–टेबुलको साशन छ यहाँ । तपाईंहरू साशन गर्नुस् न भनेको थिएँ, तर उहाँहरू शासन गर्न हुन्न ।’