|  

आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै 

२९ फागुन, काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।

उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ ।हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ ।फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।