|  

दाङमा वडाध्यक्षद्धारा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट 

२९ फागुन, काठमाडौं ।  दाङको घोराहीमा वडाध्यक्षले विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेका छन् ।

घोराही उपमहानगरपालिका– १४ का वडाध्यक्ष भानसिंह बुढाले शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढा माथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको गठन गर्न बसेको बैठकमा वडाध्यक्ष बुढाले प्रअ बुढामाथि हातपात गरेको स्रोतले जनाएको छ । ‘सुरुमा वडाध्यक्षले हात हाले। त्यसपछि मलाई भूइमा ढालेर निर्घात कुटपिट गरे,’ उनले भने।

वडाध्यक्षपछि प्रेम बुढा, सुजन बुढा लगाएत दश बाह्र जनाले मुक्का र लात्तीले निर्घात कुटपिट गरेको प्रअ बुढाले बताए।बुधबार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्नका लागि भेला बोलाइएको थियो। त्यो भेलामा उपस्थित अभिभावको संख्या निकै कम थियो । त्यसपछि प्रअ बुढाले भेलाका लागि कोरम नपुगेको हुँदा त्यो भेलाले नयाँ विद्यालय व्यवस्थापन  समिति चयन गर्न नसक्ने बताएका थिए ।

वडाध्यक्ष बुढाले कोरम नपुगेपनि भनेका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि प्रअ बुढालाई बलजफती माइनुट लेख दबाव दिएको आरोप छ । अवधी सकिएका कारण फागुन ४ गते यता विद्यालय व्यवस्थापन  समिति अध्यक्षविहीन छ ।

सोही बिषयमा छलफल गर्न तथा नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न तेस्रो पटक भेला बोलाइएको थियो। बुधबारको भेलामा पनि कोरम नपुगेका कारण फेरि अर्कौ बैठक बस्नु पर्ने अडान प्रअले लिएपछि वडाध्यक्ष र उनको समूह कुटपिटमा उत्रिएका थिए ।