|  

प्रधानमन्त्री कपमा एपिएफविरुद्ध पुलिसको संघर्षपूर्ण जित

०१ चैत, काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले संर्घषपुर्ण जित निकालेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले एपीएफ क्लबलाई दुई विकेटले पराजित गरेको हो । एपीएफले दिएको ९५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव २ ओभरमा ८ विकेटको क्षतिमा ९७ रन बनाएर भेट्टाएको छ । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको  एपीएफ क्लब २७ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा ९४ रनमा समेटिएको थियो । पछिल्लो तीन खेलमा पुलिस क्लब अपराजित छ भने एपीएफले तीन खेलमा जित र एक मा हार व्यहोरेको छ । एपीएफविरुद्ध विजयी भएसँगै पुलिसले तीन खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा सुरक्षित गरेको छ ।

आजको हारसँगै एपीएफ क्लब तेस्रो स्थानमा पुगेको छ  । ६ अंकसहित आर्मी क्लब तालिकाको शीर्ष स्थानमा छ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिससहित सात प्रदेश टिमले प्रतिस्पर्धा गर्दैछन् ।