०१ चैत, काठमाडौं । भू-मध्य सागर युरोपको सबैभन्दा गहिरो फोहोर फाल्ने ठाउँ बनेको नयाँ अध्ययनले देखाएको छ ।
आयोनियन सागरको ५ हजार १ सय १२ मिटर गहिरो अर्थात १६ हजार ७ सय ७ फिट तल ‘क्यालिप्सो डीप’ सम्म मानव गतिविधिबाट उत्पन्न प्लास्टिक फोहोर फेला परेको अध्ययनमा उल्लेख छ । समुद्रको फेदमा कुल १ सय ६७ थरी वस्तुहरू फेला परेकामा मुख्यतया प्लास्टिकका कन्टेनरहरू रहेका अध्ययनमा संलग्न वैज्ञानिकहरूले बताएका छन् । समुद्रमा भेटिएका फोहोरहरूमा ८८ प्रतिशत प्लास्टिकजन्य रहेका छन् । फोहोरका कारण समुद्री जीव पनि मारिने गरेका र धेरै जीवहरू लोप हुने सङ्घारमा रहेका अध्ययनमा उल्लेख छ । फोहोरका कारण समुद्रमा पनि ‘डेड जोन’ बनिरहेका छन् । ‘डेड जोन’ भनेको यी समुद्री क्षेत्रहरूमा जीवनको सम्भावना समाप्त हुँदैछ भन्नु हो । वातावरण संरक्षण निकायको प्रतिवेदन अनुसार हरेक वर्ष ८ देखि १२ मेट्रिक टन प्लास्टिक समुद्रमा फ्याँकिन्छ । अहिले विश्वभरका समुद्रको सतहमा १५ देखि ५१ ट्रिलियन प्लास्टिकका टुक्राहरू तैरिरहेका छन ।