०१ चैत, काठमाडौं । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ ।
दाताहरुको सहयोगमा गणना हुँदै आएकोमा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक÷एक गैँडाको सङ्केतका आधारमा अवस्था पहिचान गरिने विभागका महानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भव भएसम्म गणना गरिने उनले बताए ।
विभागले निकुञ्जसँग सहकार्य गर्ने विभिन्न दातृ निकायसँग मिलेर गैँडा गणना गर्दै आएको थियो । नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेका विभागले जनाएको छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ र सन् २०१५ मा ६४५ गैँडा थिए । यसअघि सन् २०२१ मा गैँडा गणना गरिएको थियो ।