|  

पूर्वराजालाई प्रचण्डको चेतावनी-' ५ वर्ष शासन गर्न पाएको भए इतिहासको कठघरामा ठेगान लगाइदिन्थे'

०१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने दिवा सपना नदेख्न आग्रह गरेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुर्वराजा शाहलाई धेरै चुरीफुरी नगर्न पनि चेतावनी दिए ।  उनले भनेका छन्,‘हिजो इतिहासमा हजारौँ जनताको छोराछोरीहरूको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र १०/१५ हजार मान्छे उर्फिँदैमा उल्ट्याउन सम्भव छैन । तर त्यो दुष्साहस भइरहेको छ । त्यसलाई हामीले भनेका छौँ, इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ। समाजवादी र गणतन्त्रवादीहरू तयार छन्। हामीले १५ गते केन्द्रीकृत कार्यक्रम गर्दैर्छौँ । यो नौटकीहरु देखाइँदैछ, राजामहाराजाहरुको बारेमा । २५० वर्षसम्म यो देशलाई कहाँ पुर्याए । नेपाली जनताले बिर्सेको छ ? मुर्तिचोर को हुन ? नेपालका ठूला मूर्ति चोरहरू अहिले राजा । भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ?  नेपाली जनताले बिर्सियो भन्ठानेको ? मैले पहिलो पटक प्रधानमन्त्री हुँदा फेरि एकचोटी दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि छानबिन गरेर भाइमारा र राजद्रोहीलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो । अहिले यिनीहरूले चुरीफुरी गरिरहेका छन, धेरै नगरे हुन्छ । धेरै मूर्खता पहिले पनि भइसकेको छ, अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन् अब रु नेपालका राजनीतिक दल पनि उदार हुँदैनन्। त्यसैले हामी सबैले आवाज उठाउनुपर्‍यो । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनीहरूको परिवारभित्रै थिए नि । सबैले बुझेका छन् को हो मुख्य योजनाकार भन्ने त। त्यो जनतालाई थाहा छ। तीनका आसेपासेले त फेरि लुट्न पाइन्छ कि भनेर तीनलाई बोक्नसक्छन् तिमी पनि धेरै उचालियौँ भने वा विदेशीको फोटो टाँसेर उनको भरमा आउँछु कि भन्ने सपना देखेको भए त्यो दिवा सपना हुनेछ । त्यो भ्रममा नरहन आग्रह गर्छु ।’