|  

८ दिनका लागि अन्तरिक्षमा गएका सुनिता र बुच ९ महिनापछि पृथ्वीमा फर्कँदै

२ चैत्र, काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर अबको चार दिनपछि, अर्थात् मार्च १९ मा, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्कने भएका छन् ।

स्पेस एक्सले सुनिता  बुचलाई अन्तरिक्षबाट फिर्ता ल्याउन नयाँ रकेट प्रक्षेपण गरेको छ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो। यसमा, क्रू ड्र्यागन क्याप्सुलसँग जोडिएको चार सदस्यीय टोली आईएसएसको लागि प्रस्थान गरेको छ।

यो मिसनलाई क्रू–१० नाम दिइएको छ। दुवै अन्तरिक्ष यात्री आठ दिन मात्रै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्या आएपछि उनीहरू पछिल्लो नौ महिनासम्म अन्तरिक्षमै रोकिएका छन् ।

नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको दुई दिनपछि अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कने यात्रा शुरू गर्नेछन् । नासाका कमर्शियल क्रु प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू निकै खुसी भएको बताएका छन् ।

सुनिता विलियम्स र बुच विल्मोरले जुन ५, २०२४ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा परीक्षण मिशनका लागि उडान भरेका थिए।