|  

सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न रास्वपा सांसदलाई नेता केसीको चुनौती !

०२ चैत, काठमाडौं । नेपाली काँग्रेसका नेता डा.केदारनरसिंह के.सी.ले आफूविरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई चुनौति दिएका छन् ।

फागुन २८ गतेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नम्बर ९ (मनमैजु) को सरकारी जग्गा काँग्रेस नेताले कब्जा गरेको भनि आरोप लगाएका थिए । सोही विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आधार र प्रमाण बिना रास्वपा सांसदहरुले वदनियतपूर्ण तरिकाले आञ्छना लगाएको बताए । सांसदको शुन्य समयमा सांसदद्वयबाट अस्वभाविक रुपमा आधार तथा प्रमाण नै बिना भ्रमपूर्ण प्रचार गरिएको बताए । संसदमा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न चुनौति दिए ।

रास्वपा सांसदद्वयले आफ्नो चरित्र, साँख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानूनी उपचारको बाटो लिने पनि उनले चेतावनी दिए । उनकाअनुसार मालपोत कार्यालय मनमैजुले गत साउन १६ गते लेखेको पत्रमा २०८१ साउन १४ गते पत्र प्राप्त भएको र सो को सम्बन्धमा काठमाडौं जिल्ला साविक मनमैजु वडा नम्बर ९ सिट नम्बर १०२०९४४२३ कित्ता नम्बर ६२ को क्षेत्रफल २१.६२ वर्गमिटर जग्गा जग्गाधनी केदार नरसिंह केसीका नाममा र कित्ता नम्बर ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारका नाममा कार्यालयको मोठ श्रेस्तामा जनिएको व्यहोरा उल्लेख छ । उनले मालपोत कार्यालयले तारकेश्वर नगरपालिकालाई उक्त व्यहोराको पत्र लेखि पठाएपछि स्थानीय वडा कार्यालयले मोठ भिडाउने लगायतका काम गरिसकेको बताए । कित्ता नम्बर ६३ प्रश्तावित बाटो भनेर पहिले नै पास भइसकेको बताए ।

सोही अनुरुप सीमाङ्कन गर्न भनेर एक वर्षअघि नै आफूले निवेदन दिएको र हाल सीमाङ्कनको काम पनि सकिसकेको जानकारी दिए । लगाइएको पर्खाको सन्दर्भमा ढिस्कोको रुपमा रहेको जग्गाबाट माटो, बालुवा भरेर बाटो समेत छेकिने अवस्था रहेकाले उक्त कार्य रोक्नका लागि स्थानीय र जनप्रतिनिधिको आग्रह र रोहवरमा नै २०५५/०५६ सालतिरै पर्खाल लगाइएको बताए । उनले आफूले कानून विपरित कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममै रहेको बताए ।