|  

दरबार हत्याकाण्ड छानबिनको माग भूमिगतकालदेखि नै उठाएको हुँ : प्रचण्ड

०२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्नेमा जोड दिएका छन् ।

समाजवादी मोर्चाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाउँदै आएको भन्दै यस्तो बताएका हुन् । उनले भने,‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेलै हामी निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि मैले यो विषय उठाएको हुँ । मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’

प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए । अहिलेको संविधानमा रहेको समाजवाद उन्मुख गणतन्त्रलाई वैज्ञानिक समाजवादसम्म पुग्ने लक्ष्यसहित चारवटै पार्टी मिलेर समाजवादी मोर्चा बनेको उनले बताए । प्रचण्डले सार्वभौम जनताले ल्याएको गणतन्त्रमाथि धावा बोल्न संविधानले नै रोकेको भन्दै त्यस्तै अवस्था ल्याउन खोजे जनताको सार्वभौमसत्ता कायम गराइराख्न चुप लागेर नबस्ने बताए ।