०२ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै जाँदा पनि विद्यार्थी संगठनहरूले गरेको तालाबन्दीका कारण चुनाव अनिश्चित बनेको छ ।
सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । उता नवलपुरका स्ववियु चुनाव हुने १० वटा क्याम्पसमध्ये ९ वटामा अनेरास्ववियु र अनेरास्ववियू (माधव नेपाल निकट) ले संयुक्त रूपमा तालाबन्दी गरेका छन् । यी दुई संगठनले एसपीएम कलेज गैँडाकोट, जनक कलेज गैँडाकोट, जनमुखी आदर्श बहुमुखी क्याम्पस गैँडाकोट, देवचुली बहुमुखी कलेज रजहर, जनज्योति कलेज प्रगतिनगर, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती, मध्यबिन्दु बहुमुखी क्याम्पस कावासोती, नवजागरण बहुमुखी क्याम्पस चोरमारा, आरुङ्गखोला बहुमुखी क्याम्पस अरुणखोलामा तालाबन्दी गरेका छन् ।
त्यस्तै पक्लिहवा कृषि क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी ले संयुक्त तालाबन्दी गरेका छन् भने राममणि बहुमुखी क्याम्पस, रुपन्देहीमा अनेरास्ववियु ले एक्लै ताला लगाएको छ ।
यता त्रिभुवन विश्वविद्यालय क्याम्पसमा भने नेविसंघकै एउटा समूहका कारण तालाबन्दी छ । विराटनगरको महेन्द्र मोरङमा पनि नेविसंघकै आन्तरिक तनावले विवाद सिर्जना गरेको छ ।