|  

रामेछापको दुई सामुदायिक बनमा लागेको डढेलो नियन्त्रण बाहिर !

०२ चैत, काठमाडौं । रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ को टोकरपुरको दुई सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

हिजो बिहानदेखि लालीगुराँस सामुदायिक वनमा सल्केको डढेलो अनियन्त्रित भएर नजिकैको अर्को छहरेछाप सामुदायिक वनमा पनि पुगेको हो । डढेलो नियन्त्रणमा लिन नेपाली सेनाको दोरम्बामा रहेको गुल्म, जनपद र सशस्त्र प्रहरीसहित स्थानीय प्रयास गरेपनि तीव्र हावाका कारण निभाउन कठिन भइरहेको छ । डढेलो अनियन्त्रित भएका कारण दोलखाको शैलुङ क्षेत्र पुगेपछि मात्रै नियन्त्रणमा लिन सकिने वडा नं-३ का अध्यक्ष सन्तलाल थापा मगरले बताएका छन् । डढेलोले दुई वटा सामुदायिक वनको ६० हेक्टर भन्दा बढी वन क्षेत्र नष्ट गरिसकेको छ । 

त्यस्तै, रामेछापमै आज दिउँसो गोकुलगंगा गाउँपालिका-४ बेतालीको लिसेखानी सामुदायिक वनका लागेको डढेलो बस्तीतिर आउने डरले स्थानीय त्रसित बनेका छन । डढेलोका कारण ५ भन्दा बढी घर जोखिममा परेको बताइएको छ ।सुरक्षाकर्मीसहित स्थानीयले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।