|  

अब मोबाइलमा हुने छैन गुगल असिस्टेन्ट, जेमिनाईले नै सबै काम गरिदिने

०२ चैत, काठमाडाैं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्नो भर्चुअल असिस्टेन्ट टुल ‘गुगल असिस्टेन्ट’ को साटो ‘जेमिनाई’लाई प्राथमिकता दिने भएको छ ।

हिजो एक ब्लग सार्वजनिक गर्दै कम्पनीले असिस्टेन्टको सबै फिचर जेमिनाईमा उपलब्ध गराउन लागेको जानकारी दिएको हो । कम्पनीका अनुसार यसअघि प्रयोगमा आइरहेको गुगल असिस्टेन्ट अब धेरै मोबाइल डिभाइसमा उपलब्ध हुनेछैन । साथै मोबाइल एप स्टोरबाट पनि उक्त एप डाउनलोडका लागि उपलब्ध हुनेछैन ।

यद्यपि एन्ड्रोइड नाइन वा सोभन्दा पुरानो संस्करण र २ जीबीभन्दा कम र्‍याम भएका फोनमा क्लासिक गुगल असिस्टेन्ट नै प्रयोग गर्न सकिनेछ । गुगलले ट्याब्लेट, कार र फोनसँग कनेक्ट हुने डिभाइस जस्तै हेडफोन र समार्टवाचलाई पनि जेमिनाईमा अपग्रेड गर्ने योजना बनाएको छ । यसका साथै स्पिकर, डिस्प्ले, टिभी जस्ता होम डिभाइसमा पनि जेमिनाईको नयाँ अनुभव लिन सकिने भएको छ । आगामी मे महिनामा हुने गुगल आईरओ कार्यक्रममा कम्पनीले यस विषयमा विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ । गुगलले सन् २०१६ मा गुगल असिस्टेन्ट सुरु गरेको थियो । तर अहिले जेमिनाईले नै असिस्टेन्टले गर्ने काम गरिदिन्छ ।

त्यसबाहेक अन्य विभिन्न प्रयोजनका लागि पनि प्रयोगकर्ताले गुगलको एआई च्याटबट जेमिनाई प्रयोग गरिरहेका छन् । त्यसैले गुगल असिस्टेन्ट हटाउने कम्पनीको यो तयारी अप्रत्याशित भने होइन ।