|  

नेपालमा समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो : शंकर पोखरेल

२ चैत, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । 

एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले शनिबार आयोजना गरेको ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवर्द्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयको कार्यक्रममा बोल्दै पोखरेलले समावेशितालाई संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रूपमा स्वीकार गरिएको बताए ।  
     
महासचिव पोखरेलले सामाजिक र सांस्कृतिक मान्यताका कारण महिला पछाडि पारिएका टिप्पणी गरे । महिलालाई आर्थिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उनले देशको संविधान र निर्वाचनसम्बन्धी कानूनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना गर्नुपर्ने बताए । 

महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको दाबी गरे । उनले आफ्नो पार्टीले अधिकभन्दा अधिक महिलालाई नीति निर्माणका स्थानमा अवसर दिएको बताए । 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलन कमजोर भएको भन्दै सबै राजनीतिक दलले महिलालाई अगाडि सार्नुपर्ने बताइन् । संविधानले महिला अधिकारलाई सुनिश्चित गरे पनि अझै पनि त्यो पूरा हुन नसकेको उनको भनाइ छ ।