३ चैत्र, काठमाडौं । धनगढीको धनगढी उपमहानगरपालिका–६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन् ।
मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो।घटनामा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द जोशी घाइते भएका छन् । उनीहरूको हाल निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको स्रोतले जनाएको छ ।
खड्काले जोशीको पसलबाट ग्यास ल्याएको र सिलिन्डर जडान गर्न जोशीलाई घरमै बोलाएकी थिइन्। सिलिन्डर जडान गर्ने क्रममा एक्कासी विस्फोट भएको बताइएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।