३ चैत्र, काठमाडौं । चालू आर्थिक वर्ष २०८१ / ८२ को पहिलो सात महिनामा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या उल्लेखनीय वृद्धि भएको छ ।
साउनदेखि माघसम्म कूल चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका छन् ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिनेमध्ये पुरुष ४ लाख १२ हजार ५५२ र महिला ५२ हजार ९५६ छन् ।
माघमा मात्र ६४ हजार ३११ पुरुष र ८ हजार १३० महिलाले श्रम स्वीकृति लिएको तथ्यांकमा देखिन्छ ।तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्स (यूएई)श्रमिकको प्रमुख गन्तव्य रहेको छ, जहाँ एक लाख ४८ हजार १३३ जना गएका छन् । त्यसपछि साउदी अरेबियाका लागि ९१ हजार ३४७, कतारका लागि ८२ हजार २०० र मलेसियाका लागि १८ हजार १६४ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।