|  

मुलुकमा प्राप्त उपलब्धिलाई ढाकछोप गरेर भ्रम सिर्जना नगर्न विपक्षी दललाई काँग्रेसकाे आग्रह

०३ चैत, काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका  छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा घिमिरेले मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको भन्दै देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका हुन । उनले मुलुकमा प्राप्त उपलब्धि र सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रम सिर्जना नगर्न विपक्षी दललाई आग्रह गरे । घिमिरेले मुलुक संघीयतामा गइसकेपछि देश विकास र सुशासन प्रवद्र्धन भई जनतामा आशा र विश्वास पैदा भएको दावी गरे ।

उनले हरेक वर्ष लाखौं युवाहरू विदेशीएको विषय उठान हुने गरे पनि मुलुकमा १५ अर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउनेलाई बेवास्ता गर्न नमिल्ने बताए । उनले मुलुकको विकासका लागि पूर्वाधार विकासमा लगानी गर्न आवश्यक रहेको उल्लेख गरे ।