०३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।
निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत आपूर्ति गर्न आवश्यक संरचना परीक्षणका क्रममा सुरुङमा पानी चुहिने समस्या देखिएको थियो । हाल उक्त समस्या समाधानका लागि मर्मत तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ । १ सय २ मेगावाट क्षमताको यो आयोजनाबाट जाडो महिनामा करिब ४० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । हिउँदमा विद्युत आपूर्तिको सन्तुलन कायम गर्न यो महत्वपूर्ण हुने भएकाले प्राधिकरणले आयोजनालाई छिटो सञ्चालनमा ल्याउन ताकेता गर्दै आएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा मध्यभोटेकोशी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवासकुमार मिश्र सम्मिलित टोलीले शनिबार आयोजनास्थलको निरीक्षण समेत गरेको छ । टोलीले प्रसारण लाइन, सबस्टेसन तथा निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिएको हो ।
साथै, कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले खिम्ती-बाह्रबिसे प्रसारण लाइनलाई दुई केभीमा चार्ज गर्न बाँकी कामहरू शीघ्र पूरा गर्न निर्देशन दिएको छ ।