|  

केएसएलका निर्देशक माथिको आरोप छानबिन गर्न जाँचबुझ समिति गठन

०३ चैत, काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलामाथि छानबिन गर्न जाँचबुझ समिति गठन भएको छ ।

कलेजका विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि संग्रौलामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको हो । पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको कलेज प्रशासनले जनाएको छ । गत फागुन २४ गते राति काठमाडौं स्कुल अफ लमा अध्ययरत एक छात्राले सामाजिक सञ्जालमा पोस्ट गर्दै कलेजमा विद्यार्थीहरूलाई यौन दुव्र्यवहार हुने गरेको आरोप लगाएकी थिइन ।

उक्त पोस्टमा ती विद्यार्थीले कलेज प्रशासनले आफ्नो निवेदनमाथि छानबिन प्रक्रिया अगाडि नबढाएको र कुनै सुनुवाइ नभएको भन्दै तत्काल निर्देशकलाई निलम्बन गरी छानबिन अगाडि बढाउन पनि माग गरेकी थिइन । कलेज प्रशासनले भने निवेदन प्राप्त गरेको केही दिनपछि नै कलेजमा परीक्षा सुरु भएकाले छानबिन केही ढिलो भएको बताएको थियो । यता कार्यकारी निर्देशक संग्रौलाले भने आफूविरुद्ध विद्यार्थीले लगाएको आरोप तथ्यहीन र मिथ्या सूचनामा आधारित भ्रमपूर्ण अभिव्यक्ति भएको बताएका छन । उनले आफ्नो चरित्र हत्या गर्न परिचालित विद्यार्थीले सामाजिक सञ्जालमा यौन दुव्र्यवहार भएको आरोप लगाएको बताए ।