३ चैत, काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य-मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा आइतबार निषेधाज्ञाको आदेश जारी गरेका हुन् । निषेधाज्ञा चैत ४ गते सोमबारबाट लागू हुने र दुई महिनासम्मका लागि रहने छ ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेशमा जनाइएको छ ।