|  

बिआरआईबाट फाइदा लिन राष्ट्रिय सहमति आवश्यकः झलनाथ खनाल

३ चैत, काठमाडौं ।   नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाभकारी परियोजना भएको बताएका छन्।

काष्ठमण्डप डायलगको समापनमा आयोजित पत्रकार सम्मेलनमा उनले बिआरआई परियोजनाबाट नेपालले धेरै किसिमबाट फाइदा लिन सकिने बताए। उनले बिआरआई विश्वका १५० वटा देशले स्वीकार गरी फाइदा लिइरहेको बताए।

नेपालले बिआरआईमार्फत ऋण लिने कि अनुदान भन्ने विषयमा विवाद गर्न नहुने उनको भनाइ थियो। बिआरआईको धारणा बुझेपछि सस्तो ब्याजमा ऋण लिएर पनि काम गर्न सकिने उनले उल्लेख गरे।

उनले देश विकासका लागि विदेश नीतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए। उनले बिआरआई एक्काइसौँ शताब्दीको संसारको सबैभन्दा महत्वपूर्ण र ठूलो परियोजनाको रुपमा आएकाले नेपालले उपयोग गर्नुपर्ने बताए।

परियोजनबाट फाइदा उठाउनका लागि सबै राजनीतिक दलहरुले गहन छलफल गरेर सहमति निर्माण गर्नुपर्नेमा उनले जोड दिए।