|  

आरोप पुष्टि नहुँदै २३८ भेनेजुएलीलाई ट्रम्प प्रशासनले पठायो कुख्यात बन्दी साल्भाडोर जेल

४ चैत्र, काठमाडौं । अमेरिकाले विभिन्न ग्याङ सदस्यको आरोप लागेका दुई सय भन्दा बढी भेनेजुएलीलाई एल साल्भाडोरको सुम्याक्स जेल पठाएको छ ।

त्यो काम नगर्न अदालतले आदेश गरे पनि उनीहरूलाई अमेरिकाले डिपोर्ट गरेको हो । एल साल्भाडोरका राष्ट्रपति नयिब बुकेलोले आइतबार अन्तर्राष्ट्रिय एमएस–१३ ग्याङका १३ सदस्य सहित भेनेजुएली ग्याङ ट्रेन डे आराजुआका २३८ सदस्य आफ्नो देशमा पुगेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

एल साल्भाडोर र अमेरिकी प्रशासनले नै उनीहरूको परिचय खुलाएको छैन । न्यायालयले उनीहरूलाई डिपोर्ट गर्नुको कारण प्रमाणित गर्नु आवश्यक रहेको बताए पनि अमेरिकी प्रशासन आफ्नो निर्णयमा अडिग नै रहेको हो। ट्रम्पसँग निकट सम्बन्ध रहेका बुकेलोले कुख्यात बन्दी गृह टेरोरिजम कन्फिन्मेन्ट सेन्टरमा उनीहरूलाई राखिने बताए ।

उनीहरूलाई एक वर्ष त्यस जेलमा राखेपछि उनीहरूको बारे थप निर्णय हुने बताएका छन्।न्यायालयले सुरुमा सो डिपोर्ट कार्य रोक्न आदेश दिएको थियो । त्यसलाई बेवास्ता गर्दै प्रशासनले लिखित आदेश बिना कार्यान्वयन नहुने तर्कसहित उडान राखेको थियो ।

अदालतबाट लिखित आदेश आउँदा विमान उडिसकेकाले फिर्ता गर्न नमिल्ने तर्क गरिएको थियो । कानुन मन्त्रालयले नै यो निर्णयको विरुद्धमा पुनरावेदन गरेको छ।