४ चैत्र, काठमाडौं । नेपाली मुलका विजय पौडेल क्यानाडाको संघीय सांसदको उम्मेदवार बनेका छन् ।
क्यानाडाको ओन्टारियो प्रान्तको हम्बर रिभर – ब्ल्याक क्रिक क्षेत्रबाट संघीय सांसदको लागि कनजरभेटिव पार्टीको आधिकारिक उम्मेदवार बनेका हुन् ।
‘यो निर्वाचन नेपालीमुलको क्यानेडीयनहरुका लागि ऐतिहासिक छ’, उनले भने,‘संसदीय निर्वाचनमा विजयी भएको खण्डमा क्यानाडाको संघीय संसदमा निर्वाचित हुने पहिलो नेपालीमूलका सांसदको रुपमा इतिहास रचिनेछ ।’
पौडेलले सन् २०२१ मा पनि उम्मेदवारी दिएका थिए । क्यानाडाको मुलधारको राजनीतिमा लामो समयदेखि सक्रिय बर्दियाका विजय पौडेलले आफ्नो राजनीतिक यात्रालाई संघीय एकाइतर्फ अगाडि बढाएका हुन् ।
विगत १५ वर्षदेखि क्यानाडामा रहँदै आएका पौडेल व्यवसायमा सम्लग्न छन् । हाल क्यानाडा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष रही कार्य गर्दै आइरहेका छन् ।