४ चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भोलि कुराकानी हुने भएको छ ।
यस क्रममा युक्रेनमा युद्धको सम्भावित अन्त्यबारे वार्ता हुनसक्ने भनिएको छ । आइतबार साँझ एयर फोर्स वनमार्फत फ्लोरिडाबाट वासिङ्टन जाँदै गर्दा ट्रम्पले पत्रकारहरूलाई यो जानकारी दिएका हुन् ।
‘हामी हेर्ने छौँ कि मंगलबारसम्ममा घोषणा गर्न केही छ कि छैन, म मंगलाबर राष्ट्रपति पुटिनसँग कुरा गर्नेछु’ ट्रम्पले भने । गत हप्तामा धेरै काम भएको अनि आफूहरूले यो युद्ध अन्त्य गर्न सक्छौँ कि सक्दैनौँ भनेर हेर्न चाहने पनि उनले बताए ।
रुसले लगभग तीन वर्षअघि युक्रेनमा आक्रमण गरेको थियो । युद्ध अन्त्य गर्न वार्ताको एक हिस्सा भूमि र बिजुली उत्पादन केन्द्रहरू भएको उनले बताए ।
‘हामी जमिनको बारेमा कुरा गर्नेछौँ । हामी बिजुली उत्पादन केन्द्रबारे कुरा गर्नेछौँ’ उनले भने । ट्रम्पले यसलाई केही सम्पत्तिको विभाजन जस्तो भनेका छन् ।