०४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बहादुर सिंहले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण प्रस्ताव राखेको प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले बेश्यालय र कोठी चलाउने दिन आएको हो ? भन्दै प्रश्न गरेका हुन । उनले भने, ‘पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन व्यवसाय, यौन पर्मिट लाइसेन्स सरकारले दिनुपर्छ भन्नु भएको छ एउटा जिम्मेवार माननीयज्यूले । यो व्यवसाय, बेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होईन ?’
नेपाल प्रकृतिको सुन्दर देश रहेको र जलस्रोतमा पनि विश्वको दोस्रो सबैभन्दा ठूलो देश रहेको बताउँदै उनले नेपाल देव भूमि माता सीता, भृकुटी र गौतम बुद्ध जन्मिएको भूमि हो भन्न नबिर्सन आग्रह गरे ।