|  

हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्छः ऊर्जामन्त्री

०४ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह-२०८१’ को शुभारम्भ गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्ने पनि बताए । उनले जलवायु परिवर्तन र विश्वमा भएको तीव्र औद्योगिकरणका कारण विश्वको तापक्रम बढ्दै जाँदा यसको असर नेपालका हिमालमा परेको भन्दै चिन्ता व्यक्त गरे । जलस्रोत र मौसम विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए ।

सरकारद्वारा हाल सञ्चालन भइरहेका विभिन्न जल तथा मौसमसम्बन्धी पूर्वानुमान प्रणालीलाई डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गरिने उल्लेख गरे । मन्त्री खड्काले स्वच्छ पानीको प्रवद्र्धन, मौसम पूर्वानुमान प्रणालीको सुदृढीकरण तथा जलस्रोतको दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सरकारले अघि बढाइरहेको स्पष्ट पारे । सरकार दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकूलन रणनीति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मन्त्री खड्काले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालले छिमेकी देशसँग मिलेर काम गर्नसक्ने थुप्रै अवसर रहेको बताए । उनले जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थासँग सहकार्य गरी नेपालका जलस्रोतको दिगो व्यवस्थापन तथा विकासलाई सुनिश्चित गर्न लाग्ने उल्लेख गरे ।