|  

आफूहरूले दिएकै सम्मान ग्रहण गर्न पूर्वराजा ज्ञानेन्द्रलाई कृष्ण सिटौलाको आग्रह

०४ चैत, काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तन पक्षधर सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला भएको बताएका छन् ।

आज राष्ट्रियसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काएको भन्दै दलहरूको दृढता नदेखिएको टिप्पणी गरे । परिवर्तन पक्षधरलाई एक हुन आग्रह गर्दै उनले भने,‘राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भएको छ । त्यसमा परिवर्तनकारी राजनीतिक दलको जुन किसिमको दृढता हुनुपर्ने हो, त्यो देखिरहेको छैन ।’

उनले नयाँ संविधान जारी भएको लामो समयपछि शाहले ‘मै केही गर्छु’ भनेर गाडीमा ताली खाँदै हिँड्नु शोभयनीय नभएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्रले आफूहरूले दिएकै सम्मान ग्रहण गर्नु उचित हुने बताए । नभए राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्नेमा उनले जोड दिए । उनले तत्कालीन राजा वीरेन्द्रको वंशनासको घटनाबारे भने त्यति बेलाको प्रशासन नै जानकार रहने बताए ।  सिटौलाले संविधानको मौलिक पक्षको वास्तविक कार्यान्वयन भयो कि भएन भनेर समीक्षा गर्ने बेला भएको बताए ।