०४ चैत, काठमाडौं । उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरले भारत सरकारलाई करको रूपमा लगभग ४०० करोड रुपैयाँ तिरेको जनाएको छ ।
उत्तर प्रदेशको अयोध्यास्थित मणिराम क्यान्टोनमेन्ट मन्दिरमा राम मन्दिर ट्रस्टका ट्रस्टीहरूको आयोजना गरेको बैठकमा ट्रस्टको लेखाजोखा प्रस्तुत गरिएको थियो । ट्रस्टको स्थापना २०२० को फेब्रुअरी ५ मा स्थापना भएको थियो । ट्रस्टले २०२० को फेब्रुअरी ५ देखि २०२५ को फेब्रुअरी ५ सम्म भारत सरकारलाई करको रूपमा लगभग ४०० करोड रुपैयाँ तिरेको बैठकमा राम मन्दिर ट्रस्टका सचिव चम्पत राईले बताएका छन् । योमध्ये २७० करोड रुपैयाँ जीएसटीको रूपमा दिइएको र बाँकी १३० करोड रुपैयाँ अन्य करको रूपमा सरकारलाई दिइएको भनिएको छ । राईले भनेका थिए, ‘अयोध्यामा आउने भक्तजनहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । गत वर्ष लगभग पाँच करोड भक्तजनहरूले रामलीलाको दर्शन गरे ।’
२०२५ को जनवरी १५ देखि फेब्रुअरी २८ सम्म कुम्भ मेला चलिरहेको समयमा समेत लगभग १ करोड २६ लाख भक्तजन अयोध्या पुगेको उनले बताए । उनले भने, ‘यस अवधिमा, हरेक दिन लगभग चारदेखि साढे ४ लाख मानिसहरू अयोध्या आउँथे । रेलवेका अनुसार हरेक दिन दशवटा रेलहरूले ४० हजारदेखि ५० हजार मानिसहरूलाई अयोध्या ल्याउँदै आएका थिए ।’ ट्रस्टको वित्तीय रेकर्डहरू नियन्त्रक तथा महालेखा परीक्षकका अधिकारीहरूले लेखापरीक्षण गरेका छन् ।