|  

पीएम कपः आर्मी र पुलिसको अपराजित यात्रा कायमै 

०४ चैत, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

ललित राजवंशीको उत्कृष्ट बलिङमा आज पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसको यो लगातार पाँचौँ जित हो । जितका लागि पुलिसको दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९९ रनमा समेटियो । त्यसअघि भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । यो नतिजापछि अपराजित पुलिस १० अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत छ । सुदूरपश्चिमको यो लगातार चौंथो हार हो । पराजित सुदूरपश्चिम भने २ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।

त्यस्तै आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पनि लगातार पाँचौ जित निकालेको छ । रुपन्देहीको एक्स्ट्राटेक ओभलमा खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३ विकेटले पराजित गर्दै आर्मी विजयी भएको हो । एपिएफ भने पाँच मध्ये दुई खेलमा पराजित भइसकेको छ । एपिएफले दिएको १४२ रनको लक्ष्य आर्मीले ४२।५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि आर्मीका लागि विवेक यादवले २६ रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए ।