४ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विगतका राजा-महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले विगतका राजा-महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? दरबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी रहेको बताए । उनले अरु सबैकुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताए । उनले राजावादीहरुले गरेको प्रदर्शन संविधान विपरित भएको उल्लेख गरे ।
अध्यक्ष दाहालले भने, ‘राजनीतिक सिस्टम, राजनीतिक मान्यता परिवर्तन गर्न सकिन्छ । परिस्थिति र जनताको चाहनाअनुसार । तर एउटा चिज परिवर्तन गर्न सकिँदैन । राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता र जनतामा गएको सार्वभौम सत्ता परिवर्तन गर्न सकिँदैन । सार्वभौम सत्ता यसअघि व्यक्ति र वंशमा आधारित थियो । नेपाली जनतामा गएको सार्वभौम सत्ता परिवर्तन हुन सक्दैन । अहिले तथाकथित राजावादीहरुले जे गरेका छन् त्यो संविधान विपरित काम हो । जनताको सार्वभौम सत्ता खोस्नेतिर गएका छन् । जनतालाई फेरि रैती बनाउने उद्देश्यले प्रेरित छ । त्यसलाई कुनै हालतमा सफल हुन दिइनेछैन । त्यो फेरि कालरात्री फर्कातिर हामी दिँदैनौँ । हामीले आफ्ना छोराछोरी र पुस्तालाई हिजो के भएको थियो कोत पर्व, भण्डारखाल पर्व किन भएको थियो । सयौँ भारदारहरुको हत्या कसरी गरिएको थियो । नेपालको नक्शालाई नक्शालाई संकुचित बनाउने काम दरबारीया राजाहरुले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा, महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयहरु गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए ? यहीँ अस्ति भर्खरै कोलकतामा तिमीहरुको राजाहरुले बेइज्जत नै गरे छिटो फर्काउ भन्नुपर्ने स्तर कसले गरेको थियो, दरबार हत्या काण्ड कसले कसरी गरेको हो यो युवालाई बुझाउनुपर्छ ।’
अध्यक्ष दाहालले काँग्रेस—एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउन लागेको चर्चा गरिएको भन्दै आफूहरुले सरकारमा जाने कुनै नीति नलिएको बताए । देशमा संकट आएको खण्डमा संकट समाधानका लागि आफूहरुले विचार दिने तर यही सरकारमा गएर सामेल नहुने जिकिर गरे । सरकारमा जाने बारेमा औपचारिक कुरा कसैसँग नभएको बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरुमा छलफल भएको भएपनि सरकार बनाउने भन्नेबारेमा कुनै छलफल नभएको दाबी गरे ।
अध्यक्ष दाहालले आफूले राम्रो गर्न खोज्दाखौज्दै सरकार ढालेर अहिलेको सरकार बनेको बताए ।