०४ चैत, काठमाडौं । यस वर्ष मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदैछन् ।
यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका चार स्थानीय तह भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीनवटा पालिकाको बीचमा पर्ने लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । परीक्षामा नियमिततर्फ ४१ र ग्रेड वृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुँदैछन् ।
नासोँ गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट २१, मनाङ ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट ४, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १४ र लोकप्रियबाटै खुलातर्फ दुई जनाले एसईई दिने छन । प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिने बताए ।