|  

यसअघि जारी भएका भिसा पनि रद्द हुन सक्ने अमेरिकाको चेतावनी 

५ चैत्र, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ ।

मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो ।  

सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गरिने र यदि उनीहरूले उल्लंघन गरेमा भिसा रद्द गरी देश निकाला गरिने उल्लेख छ।

मन्त्रालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट जारी गरेको सन्देशमा भनिएको छ, ‘अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि रोकिँदैन। हामी भिसा धारकहरूले सबै अमेरिकी कानून र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गर्छौं – र यदि उनीहरूले पालना नगरेको भेटिएमा हामी उनीहरूको भिसा रद्द गरी देश निकाला गर्नेछौं ।’