|  

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

५ चैत्र, काठमाडौं । संघीय संसद् अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।

जस अन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफल हुनेछ । उजुरी अध्ययनको विषय पनि छलफलको कार्यसूची रहेको छ ।

यसैगरी बिहान साढे ११ बजे बस्ने  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगतिलगायत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ ।