५ चैत्र, काठमाडौं । इजरायलले गाजा पट्टीमा फेरि हमला शुरू गरेको छ ।
इजरायल र हमासबीचको पहिलो चरणको युद्धविराम सकिएको र दोस्रो चरणको वार्ताका लागि कहिले सहमति हुने भन्नेमा दुवै पक्ष शंकाको घेरामा रहेका बेला इजरायलले आक्रमण गरेको हो । जनवरीमा शुरू भएको तीन चरणको युद्धविराम कसरी कायम राख्ने भन्ने विषयमा इजरायल र हमासबीचको असहमतिबीच हिंसा बढ्दै गएको हो ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासविरुद्धको कारबाही फेरि शुरू गर्ने जनाएको छ । इजरायली डिफेन्स फोर्सले ट्वीटरमा लेखेको छ, ‘गाजा स्ट्रिपमा हमास आतंकवादी संगठनसँग सम्बन्धित आतंककारी लक्ष्यहरूमा व्यापक हमला गरिरहेको छ।’
प्रत्यक्षदर्शीहरूका अनुसार मध्य गाजाको देइर अल–बालाहमा तीनवटा घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहका लक्ष्यहरूमाथि आक्रमण भएको थियो । गाजा शहरमा पाँच बालबालिकासहित ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको स्रोतले जनाएको छ । हमलामा २० भन्दा बढी घाइते भएका छन् ।