०५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सामाजिक सञ्जालमा भाइरल बनेका जुम्लाका टोपी बेच्ने वृद्ध दम्पतीको निःशुल्क उपचारको जिम्मा लिएका छन् ।
६९ वर्षीय जय बहादुर हमाल र उनकी ५२ वर्षीया श्रीमती धन लक्ष्मी हमाल विगत केही वर्षदेखि काठमाडौंका सडकमा आफ्नै हातले बुनेका टोपी बेच्दै जीविका चलाउँदै आएका थिए । स्वास्थ्यमा गम्भीर समस्या हुँदाहुँदै पनि पेट पाल्न उनीहरू निरन्तर श्रम गर्दै आइरहेका थिए । केही मिडियाकर्मीले वृद्ध जोडीको पीडादायी जीवनशैली सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि डा. शर्माले मानवीय पहल गर्दै दुवैजनाको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन । हाल दम्पतीलाई काठमाडौं ल्याएर केएमसीमा उपचार प्रक्रिया सुरु गरिएको छ ।