|  

पाटन क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच कुटाकुट

५ चैत, काठमाडौं ।   फर्जी मतको विवादले पाटन संयुक्त क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूबीच कुटाकुट भएको छ ।

स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुवै सत्ताधारी संगठनका नेता-कार्यकर्ताबीच कुटाकुट भएको हो ।

एकजना विद्यार्थीको परिचयपत्रमार्फत् सात जनासम्मले मतदान गरेको पाइएपछि अनेरास्ववियुले आपत्ति जनाएको थियो ।

एक सयजना विद्यार्थीले मतदान गरिसकेपछि विवाद भएर मतदान प्रक्रिया रोकिएको थियो । विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

निर्वाचनस्थल तनावग्रस्त बनेपछि समितिको बैठक बसिरहेको छ । अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरूले निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाउँदै मतदान प्रक्रियाबाट बाहिरिएको घोषणा गरे ।