|  

ट्रम्पका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशकः नेपाललाई दिइने आर्थिक सहायताले निरन्तरता पाउँछ 

०५ चैत, काठमाडौं । दक्षिण र मध्य एसिया हेर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज भेटवार्ता गरेकी छन् ।

आरजुसँगको भेटमा ट्रम्पका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक गिलले नेपाललाई दिइने आर्थिक सहायताले निरन्तरता पाउने बताएका छन् । राष्ट्रपति ट्रम्पले नेपालमा दिइने अनुदानलाई ‘फ्रड’ भनिरहेका बेला उनका वरिष्ठ अधिकारीले भने नेपालमा आउने आर्थिक सहायताले निरन्तरता पाउने दाबी गरेका छन् ।

साथै, राइसिना डायलग कार्यक्रमका लागि नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री राणाले ‘साइडलाइन’ वार्ता गर्दै गिलसँग हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छन् । विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उनले विपिनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको बताएकी थिइन्। उनीहरूबीच नेपाल र अमेरिकाको द्विपक्षीय हितका विषयमा पनि छलफल भएको छ ।