५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन् ।
आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ ।
‘१२ गते बस्ने मूल आयोजक समितिको बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेर सार्वजनिक गरिने छ’, श्रेष्ठले भने । राप्रपाले समान विचार र सिद्धान्त बोकेका सबै शक्तिहरुलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।
नवराज सुवेदी नेतृत्वको हिजो गठित समितिलाई राप्रपाले सहयोग गर्ने छ । पार्टीका अर्का प्रवक्ता ज्ञानबहादुर शाहीले अन्य पार्टीका साथीहरुलाई जनताको इच्छा र भावनाहरुविरुद्ध नजान आग्रह गरे ।