|  

परराष्ट्रमन्त्री राणा र मल्दोभाका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

५ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार नयाँदिल्लीमा भेटवार्ता गरेकी छन् ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि दिल्लीमा रहेका समकक्षीद्वयबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल–मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा. राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै विश्वव्यापी समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्नेबारे कुराकानी भएको जनाइएको छ ।

भेटमा मन्त्री डा. राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहायताबारे जानकारी दिएका थिए ।

नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्य लगायतमा दिएको उम्मेदवारीबारे जानकारी दिँदै उनले त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह गरेकी थिइन् ।

मन्त्री डा. राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोइको नेपाल भ्रमणबाट पनि २ देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने बताएकी छन् ।