|  

राप्रपालाई प्रसाईंले भने: राजाप्रति माया छ भने सदनबाट राजीनामा दिएर आउनुस्

६ चैत्र, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई लक्षित  गर्दै राजा र हिन्दुराष्ट्रको एजेन्डा छाड्न आग्रह गरेका छन्।

‘राजेन्द्र र धवल दाइलाई भन्छु– तपाईंहरू आजदेखि राजा र हिन्दुअधिराज्य भनेर नभन्नुस्। त्यो माग हामीले उठाएको हो। पानसमा दियो बालेर राजालाई सडकमा ल्याउने काम त दुर्गा प्रसाईंको अभियानले गरेको हो नि त, त्योभन्दा अघि राजा त मन्दिरमा मात्रै जानुहुन्थ्यो, हाम्रो अभियानपछि आमजनतामा आउनुभएको हो,’ प्रसाईंले आफ्नै युटुब च्यानलमा राखेको भिडिओमा भनेका छन्।

आफूले भुइँ मानिसका एजेन्डा बोकेको र त्यो राप्रपाले लिन खोजेको प्रसाईंले दाबी गरे।‘राप्रपाले एजेन्डा देखाउने तर मन्त्री खाने हो,’ उनले भने, ‘राजाप्रति माया छ भने सदनबाट राजीनामा दिएर आउनुस्। नत्र जनताले कसरी पत्याउँछन् उहाँहरूलाई ? नवराज सुवेदी राप्रपाकै सदस्य हुनुहुँदो रहेछ, तर छाडिदिनुभयो।’

प्रसाईंको आह्वानमा गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागत र प्रदर्शन भएको थियो। त्यो कार्यक्रमलाई राप्रपा र राप्रपा नेपालसहित विभिन्न अभियानले समर्थन जनाएका थिए । पूर्वराजालाई स्वागत गर्न राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका थिए । तर आफूले गरेको कार्यक्रममा राप्रपा र राप्रपा नेपालले जस लिन खोजेको भन्दै प्रसाईंले आपत्ति जनाएका थिए।