६ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि हालतमा राजतन्त्र नर्फकने दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले जनताले राजतन्त्र नचाहेको जिकिर गरे । उनले जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए ।
‘कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन । कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन,’उनले भने, ‘जनताले चाहेको छैन, रुचाउँदैन । त्यसका लागि जे पनि गर्न तयार छौँ, हेक्का रहोस् ।’
उनले नेपालको अन्तिम राजा ज्ञानेन्द शाह भएको बताए । संविधान बनाउने बेलामा निर्णय स्वीकार गरेको भन्दै उनले उनको प्रशंसा पनि गरे । उनले जनताले सम्मान दिएको भन्दै सीमा पार नगर्न चेतावनी दिए ।
‘इतिहासमा हेर्ने हो भने राजतन्त्र अन्त्य हुने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको,’ उनले भने, ‘नेपाली जनताले त्यो धैर्यता, सहनशीलता, सम्मान दिएको छ । त्यो सीमालाई पार गर्न हुँदैन, सचेत गराउन चाहन्छु ।’