|  

ट्रकबाट बरामद २५ करोड विदेशी मुद्रा बैंकिङ च्यानलबाटै गएको हुनसक्ने सांसद महताेकाे आशंका

०६ चैत, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद डा. वीरेन्द्र प्रसाद महतोले काठमाडौंबाट २५ करोड १९ लाख बराबरको विदेशी मुद्रासहित ट्रक चालक पक्राउ परेको घटनामा सरकारको ध्यानाकार्षण गराएका छन ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उनले नयाँ प्रहरी महानिरीक्षकले फूली लगाउनु र ठूलो मात्रामा विदेशी मुद्रासहित व्यक्ति पक्राउ पर्नु संयोगमात्रै हो या पहिले पनि यस्तो तस्करी भइरहन्थ्यो भनेर प्रश्न उठाएका छन् । सामान्य मानिसले २५ सय डलरमात्रै विदेशी मुद्रा सटही गर्न दिने गरी त्यसो गर्दा पनि राहदानीमै छाप हान्ने चलन रहेको स्मरण गराए । यति ठूलो परिमाणमा विदेशी मुद्राको तस्करीमा नेपालको बैंकिङ च्यानल प्रयोग भएको हुनसक्ने आशंका गर्दै उनले त्यसमा पनि छानबिन माग गरे ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार मध्यराति काठमाडौंको झोरबाट चीनतर्फ लाँदै गरेको २५ करोड १९ लाख बराबरको विदेशी मुद्रा बरामद गरेको थियो । बरामद मुद्रा सबै युरो र अमेरिकी डलरका रुपमा थियो । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशीका फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरिसकेको छ । लामाले आफू भरियामात्रै भएको बताउँदै दुईजना नचिनेका मानिसले उक्त रकम दिएको बयान प्रहरीलाई दिएका छन्  ।