|  

राजसंस्था पुनः फर्काउन खोज्नु दिवा स्वप्नः सांसद ढुंगाना

६ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउछु भन्नु दिवा स्वप्ना भएको बताएका छन्।

बुधबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको अधिकार कुण्ठित गर्ने संसारभरका राजाहरु इतिहासमा सिमित भएको बताए। उनले नेपालका राजाहरुले लोकतन्त्रको विरुद्धमा काम गरेको बताए। विगतमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र नेपाली जनताले स्वीकार गरेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रको विरुद्धमा विभिन्न कदम चालेपछि गणतन्त्र स्थापना भएको बताए। जनतासँग मिलेर बसेका राजसंस्थाहरु अहिले पनि विभिन्न देशमा जिवित रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपाली जनता यो देशमा प्रजातन्त्र लोकतन्त्रका लागि लडि राखे र दरबारले जहिले पनि लोकतन्त्रको विपक्षमा आफ्नो भूमिका चलाइ राख्यो जसले गर्दा आज गणतन्त्रमा पुग्ने स्थिति बन्यो । राजा जनतासँग बस्न तयार भएनन् संसारमा धेरै राजाहरु छन् । धेरै राजाहरु जनतासँग बसेका छन् ति राजाहरु अहिले पनि छँदैछन् । जुन राज जनतासँग बस्न तयार भएनन् ति राजाहरु समाप्त भएका छन् । अहिले फेरि राजाले परिकल्पना गर्ने कि फर्किएर आउने । हो फर्किएर आउने हो भने लोकतन्त्तमा सबैलाई अधिकार छ आफ्नो कुरा राख्ने । तर नवराज सुवेदीको अध्यक्षतामा राजा फर्काउँछु भन्छ भने यो दिवास्वना हो ।’