|  

उज्यालो नेपालको नायक कुलमान हाेइनन्ः उर्जामन्त्री

०६ चैत, काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरे । कार्यकारी निर्देशक घिसिङले उद्योगको लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्काको आरोप छ । उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे । उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताए ।

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए । प्राधिकरण नाफा रहेको भनि गरिएको दाबीमा कुनै सत्यता नभएको उनको तर्क छ ।