६ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताएकी छन् ।
युगाण्डामा चार देश सम्मिलित टी–ट्वान्टी वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली आज स्वदेश फर्किएको छ । उपाधि जित्ने लक्ष्यसहित युगाण्डा गएको नेपालले कुल ६ मध्ये दुई जित र चार हार सामना गरेको थियो ।
आज स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी कप्तान इन्दुले आफ्नो टोलीले खराब क्रिकेट नभइ राम्रो क्रिकेट खेले पनि दुर्भाग्यवश राम्रो नतिजा नआएको बताइन् । उनले युगान्डा भ्रमणका क्रममा आफ्नो टोलीले राम्रो अनुभव बटुलेको पनि विश्वास व्यक्त गरेकी छन् ।
युगाण्डा, नामिबिया र हङकङ राम्रा टिम रहेको र ती टोलीसँग खेल्न पाउनु नेपालका लागि एक्सपोजर मिलेको बताउँदै उनले नतिजाका रूपमा श्रृंखलामा भने हाम्रो राम्रो नभएको बताइन । नेपालको जस्तै पिच कन्डिसन भए पनि नतिजा आउन नसकेको उनले स्वीकार गरिन । कप्तान इन्दुले युवा खेलाडीले यस शृंखलामा राम्रो प्रदर्शन गरेको उल्लेख गरिन ।