|  

राजसंस्था फर्काउन सेनाको साथ मिल्ने चर्चा चलिरहँदा सेनाले भन्यो- सेना संविधानप्रति कटिबद्ध छ

०६ चैत, काठमाडौं । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको बताएको छ ।

राजावादी गतिविधि बढिरहँदा सङ्गठनलाई विवादमा तान्ने प्रयास भएपछि सेनाले यस्तो वक्तव्य जारी गरेको हो । आज सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छ ।’

आफूसँग जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै सेनाले त्यसमा सत्यता नभएको बताएको छ । राजावादीहरूले राजसंस्था जोगाउन सेना चुकेको बताइरहेका छन भने कतिपयले राजसंस्था फिर्ता गराउन सेनाले समेत साथ दिने अभिव्यक्ति दिइरहेका छन । यस्तो अवस्थामा सेनाले संविधानप्रति कटिबद्ध रहेको बताएको हो ।