|  

मकवानपुर जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना उद्घाटन

६ चैत, काठमाडोैं ।  ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा मकवानपुरमा जनकल्याण माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण सम्पन्न भएको छ । 

तीन करोड रुपैयाँको परियोजना लागतमा निर्मित उक्त भवनको बुधबार मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा उद्घाटन गरे । 

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता र विद्यालयका शिक्षक, विद्यार्थी र उनीहरूका अभिभावकको पनि उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहयोग’अन्तर्गतको भारत सरकारको अनुदानमा विद्यालय भवन निर्माण भएको थियो । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को रूपमा लिइएको थियो र मकवानपुरको जिल्ला समन्वय समितिमार्फत कार्यान्वयन गरिएको थियो ।

श्री जनकल्याण माध्यमिक विद्यालय सन् १९६८ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको हो । सन् १९८५ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा करिब ८५० विद्यार्थी छन्, जसमध्ये ५४ प्रतिशत छात्रा छन् ।

मकवानपुरको जिल्ला समन्वय समितिका प्रमुख, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण गरिएको पूर्वाधारले विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । 

भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका निम्ति र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका निम्ति सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको दूतावासले जनाएको छ ।

No description available.

 

No description available.

No description available.